Skip to main content

Epathivara Network

कक्षा १–५ मा २० जना विद्यार्थी नभए विद्यालयको तह घटाइने



फुङलिङ। ताप्लेजुङको फुङलिङ नगरपालिकाले कक्षा १–५ सञ्चालित विद्यालयमा न्यूनतम् विद्यार्थी सङ्ख्या २० भन्दा कमी भएमा विद्यालयलाई एक तह घटुवा गर्ने भएको छ । नगरपालिकाले शिक्षक दरबन्दी मिलान तथा व्यवस्था कार्यविधि २०८३ जारी गर्दै विद्यार्थी सङ्ख्याको अनुपातका आधारमा शिक्षकको व्यवस्थापन गर्न यस्तो गर्ने भएको हो ।

यो सँगै विषयगत शिक्षक समेतको व्यवस्थापन गरिने फुङलिङ नगर प्रमुख अमिर मादेनले बताउनुभयो । उहाँका अनुसार नगरपालिकाले आधारभूत तह कक्षा १–३, कक्षा १–५ सञ्चालन भएका सामुदायिक विद्यालयमा कम्तिमा २० जना विद्यार्थी भएमा न्यूनतम् १ जना शिक्षक दरबन्दी रहने नीति ल्याएको हो ।

यो सँगै नगरपालिकाले प्रत्येक विद्यालयमा कम्तिमा एक बाल विकास केन्द्र र बाल विकास सहयोगी कार्यकर्ताको व्यवस्थापन गर्ने भनेको छ । आधारभूत तह कक्षा १–३, कक्षा १–५ सञ्चालन भएका सामुदायिक विद्यालयमा ३० जनासम्म विद्यार्थी भएमा शिक्षकको न्यूनतम् कोटा २ जना र ३१ जनाभन्दा बढी भएमा न्यूनतम् शिक्षकको कोटा ३ जना निर्धारण गर्ने भएको छ ।

कक्षा १–५ सञ्चालन भएका सामुदायिक विद्यालयमा ५१ जना वा सोभन्दा बढी विद्यार्थी भएमा शिक्षकको दरबन्दी थप गरिने छ । आधारभूत तह कक्षा ६–८ सञ्चालन भएका सम्भव भएसम्म ४ जना निम्न माध्यमिक शिक्षकको व्यवस्थापन गरिने भएको छ ।-Gorkhapatra Online

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.