Skip to main content

Epathivara Network

हाङ्देवा खोलामा पक्की पुल निर्माण गर्न सुरु



ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिकास्थित हाङ्देवा खोलामा मोटर गुड्ने (मोटरेवल) पक्की पुल निर्माण गर्न सुरु गरिएको छ । सदरमुकाम फुङ्लिङ हाङ्देवा–फुरुम्बु–मित्लुङ सडकअन्तर्गत हाङ्देवा खोलामा मोटर गुड्ने पक्की पुल निर्माण गर्न सुरु गरिएको हो ।

फुङ्लिङ नगरपालिका–९ हाङ्देवा र वडा १० फुरुम्बुको सिमानामा रहेको हाङ्देवा खोलामा पक्की पुल निर्माण गर्न सुरु गरिएको हो । उक्त मोटर गुड्ने पुलको शुक्रबार कोशी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री तिलकुमार मेन्याङ्बोले शिलान्यास गर्नुभएको छ । कोशी प्रदेश सरकारको कुल तीन करोड ६१ लाख ४३ हजार १०८ रुपियाँबाट मोटरेवल पुल निर्माण गर्न सुरु गरिएको हो ।

पूर्वाधार विकास कार्यालय ताप्लेजुङमार्फत निर्माण गर्न लागिएको उक्त मोटर गुड्ने पक्की पुल निर्माण गर्ने जिम्मा एमएस रामचन्द्र–प्रमाण–अरुण जेभी खाँदबारीले पाएको छ । वि.सं २०८४ साल चैत ८ गते सम्ममा पुल निर्माणको काम सम्पन्न गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता भएको पूर्वाधार विकास कार्यालयका प्रमुख वरिष्ठ डिभिजनल इन्जिनियर कुमार किसलय कर्णले जानकारी दिनुभयो ।

सिनियर डिभिजनल इन्जिनियर कर्णका अनुसार पुलको चौडाइ १० मिटर र लम्बाइ २५.६५ मिटरको हुने छ । यता हाङ्देवा खोलामा निर्माण गर्न सुरु भएको मोटरेवल पुलले फुङ्लिङ नगरपालिकाको दुईवटा वडा जोड्ने मात्र नभई जिल्लाको उत्तरी क्षेत्रको यातायातको पहुँचमा सहजता ल्याउने स्थानीय समाजसेवी सञ्जय पतङ्वाले बताउनुभयो ।

फुङ्लिङ नगरपालिका र फक्ताङ्लुङ गाउँपालिका हुँदै नेपाल र चीनको स्वसासित क्षेत्र तिब्बतसँगको सिमाना टिपताला भञ्ज्याङ जोड्ने सडकलाई समेत यो मोटरेवल पुलले सहज हुने युवा समाजसेवी पतङ्वाले बताउनुभयो । पुलको शिलान्यास कार्यक्रममा कोशी प्रदेशका पूर्वमन्त्री मेन्याङ्बोसहित फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेन, उपप्रमुख भीमादेवी ओझा लगायतको उपस्थिति रहेको थियो ।-Gorkhapatra Online

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.