ताप्लेजुङ — मैवाखोला नदीमा आएको बाढीले सडक भत्काएपछि ताप्लेजुङको दोभान बजार नजिकै दोभान–फुङलिङ सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। सोमबार बेलुकादेखि नदीमा आएको बाढीका कारण सडकमा क्षति पुगेपछि यातायात सेवा प्रभावित भएको हो।
मैवाखोलादेखि मेरिङदेन, मिक्वाखोला हुँदै आठराई त्रिवेणी गाउँपालिका भएर बग्ने मैवाखोला नदीमा आएको बाढीले दोभान बजार नजिकैको सडक बगाएको उद्योग वाणिज्य संघ दोभान शाखाका सचिव लाक्पातेम्बा शेर्पाले जानकारी दिए।
उनका अनुसार सडक अवरुद्ध भएपछि आठराई त्रिवेणी र मैवाखोला गाउँपालिकाबाट दोभान हुँदै जिल्ला सदरमुकाम फुङलिङ बजारतर्फ हुने आवतजावत ठप्प भएको छ। सडक अवरुद्ध हुँदा स्थानीय बासिन्दा, व्यवसायी तथा यात्रुहरू प्रभावित भएका छन्।
शेर्पाका अनुसार उक्त स्थानमा यसअघि पनि बाढीका कारण सडकमा क्षति पुगेको थियो। २०७२ सालमा आएको बाढीले समेत यही स्थानको सडक बगाएको उनले बताए।
बाढीले सडकमा क्षति पुर्याए पनि नजिकै रहेको पुल भने सुरक्षित रहेको दोभानका स्थानीय व्यवसायीहरूले बताएका छन्। पुल सुरक्षित रहे पनि जोड्ने सडक नै भत्किएपछि सवारीसाधन सञ्चालन हुन नसकेको हो।
स्थानीय सूर्य लिम्बूका अनुसार सोमबार बेलुकादेखि मैवाखोला नदीमा बाढी आएको हो। नदीमा पानीको बहाव बढेसँगै सडकमा क्षति पुगेको स्थानीयले बताएका छन्।
सडक अवरुद्ध भएपछि यातायात सञ्चालनका लागि तत्काल सडक मर्मत तथा वैकल्पिक व्यवस्थाको आवश्यकता देखिएको छ।