Skip to main content

Epathivara Network

१२८ मेगावाटको तमोर–मेवा जलविद्युत् आयोजनाको सुरुङ खन्न सुरु



काठमाडौँ — स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेडले १२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत् आयोजना अन्तर्गत सुरुङ छेड्ने (टनल ब्लास्टिङ) काम सुरु गरेको छ । कम्पनीले आयोजना निर्माणको महत्वपूर्ण चरणका रूपमा रहेको सुरुङ विस्फोट कार्यक्रम बुधबार ताप्लेजुङको फुङ्लिङमा गरेको कम्पनीले जनाएको छ ।

सुरुङ ब्लास्टिङसँगै आयोजनाको भूमिगत उत्खनन कार्य औपचारिक रूपमा सुरु भएको कम्पनीको भनाइ छ । आयोजना निर्माणको समयतालिकाअनुसार यो चरणलाई अत्यन्त महत्वपूर्ण मानिएको छ ।

यससँगै आयोजना योजनाको चरणबाट निर्माणको सक्रिय चरणमा प्रवेश गरेको कम्पनीले बताएको छ ।

कार्यक्रममा कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक सुदीपकुमार चौधरीसहित सञ्चालक समितिका पदाधिकारीहरूको उपस्थिति थियो । फुङ्लिङ नगरपालिकाका उपप्रमुख तथा सम्बन्धित वडाका अध्यक्ष प्रमुख अतिथिका रूपमा सहभागी थिए ।

सुरुङ विस्फोट कार्यक्रम केवल चट्टान फुटाउने कार्य मात्र नभई नेपालको ऊर्जा सुरक्षासहित उज्यालो भविष्य निर्माणतर्फको महत्वपूर्ण सुरुआत भएको कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक चौधरीले बताए । तमोर–मेवा आयोजना निर्धारित समयमै उच्च गुणस्तरसहित सम्पन्न गर्ने कम्पनीको दृढ प्रतिबद्धता रहेको उल्लेख गर्दै उनले यसबाट स्थानीय समुदाय र समग्र राष्ट्रले दीर्घकालीन लाभ प्राप्त गर्ने विश्वास व्यक्त गरे ।

आयोजनाको वित्तीय व्यवस्थापनमा सिद्धार्थ बैंक लिमिटेडले प्रमुख बैंक (लिड बैंक) को भूमिका निर्वाह गरिरहेको छ भने माछापुच्छ्रे बैंक लिमिटेड को–लिड बैंकका रूपमा सहभागी रहेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । दुवै बैंकको सहकार्य तथा ऋण लगानीले आयोजनाका लागि आवश्यक वित्तीय स्रोत सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलेको कम्पनीले जनाएको छ ।

निर्माण सम्पन्न भएपछि १२८ मेगावाट क्षमताको यो आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ । आयोजनाले विद्युत् आपूर्ति अभिवृद्धि गर्दै ऊर्जा अभाव न्यूनीकरण र नवीकरणीय ऊर्जामार्फत मुलुकको आर्थिक विकासमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ ।आयोजना निर्धारित समयमै सम्पन्न गर्ने, सुरक्षा मापदण्ड पालना गर्ने तथा वातावरणीय पक्षलाई उच्च प्राथमिकतामा राखेर निर्माण कार्य अघि बढाइने कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.