३० असार, काठमाडौं । सरकारले कानुनविपरीत ८० वर्ष हाराहारीका महेश्वरभक्त श्रेष्ठलाई नेपाल वायुसेवा निगमको अध्यक्ष तथा महाप्रबन्धक नियुक्त गरेको छ ।
२०४९ सालमा तत्कालीन सरकारले ‘कुडाकर्कट सफाइ अभियान’ नाममा व्यापक कर्मचारी कटौती गर्दा वायुसेवा निगमबाट श्रेष्ठको पनि जागिर गएको थियो । त्यसबेला उनी निगमको कर्पोरेट डाइरेक्टर थिए ।निगमबाट अवकाश पाएको ३४ वर्षपछि ८ दशकको उमेरमा श्रेष्ठलाई युवाहरूको सरकारले निगमको जिम्मेवारी थमाइदिएको छ । सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार पर्यटन मन्त्रालयको प्रस्तावमा श्रेष्ठलाई निगमको कार्यकारी भूमिका दिइएको हो ।
निगमको कार्यकारी अध्यक्ष तथा महाप्रबन्धकमा श्रेष्ठको नियुक्ति सरकारको कार्यविधि विपरीत समेत देखिएको छ । पर्यटन मन्त्रालय सम्बद्ध ‘सार्वजनिक निकायका सदस्य तथा पदाधिकारी नियुक्ति र मनोनयनसम्बन्धी मापदण्ड २०७३’ अनुसार कुनै निकायको कार्यकारी प्रमुख नियुक्त हुने व्यक्तिको उमेर ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्छ ।