Skip to main content

Epathivara Network

विपक्षीलाई थप्पड हानेपछि विवादमा तानिए बेलिङ्घम



काठमाडौं । विश्वकप सेमिफाइनलमा इंग्ल्यान्ड अर्जेन्टिनासँग २–१ ले पराजित भएपछि इंग्लिस मिडफिल्डर जुड बेलिङ्घम विवादमा तानिएका छन्।

खेल सकिएपछि उनले अर्जेन्टिनाका वैकल्पिक खेलाडी भ्यालेन्टिन बार्कोको टाउकोको पछाडिपट्टि थप्पड हानेको भिडियो सार्वजनिक भएको छ।

खेलमा मैदान प्रवेश नगरेका बार्को अन्तिम सिटी बजेसँगै मैदानमा पुगेर आफ्ना सहकर्मीहरूसँग जितको खुसी मनाइरहेका थिए। सोही क्रममा नजिकै रहेका बेलिङ्घम उनीतर्फ गएर टाउकोमा थप्पड हानेका थिए। त्यसपछि दुवै टोलीका खेलाडीबीच केहीबेर धकेलाधकेल भएको थियो। बेलिङ्घम भने घटनास्थलबाट टाढिएका थिए।

बेलिङ्घमको प्रतिक्रियाको स्पष्ट कारण खुलेको छैन। तर, अर्जेन्टिनाका एन्जो फर्नान्डेजले ८५औँ मिनेटमा बराबरी गोल गरेपछि बार्को मैदानमा दौडिँदै आएर इंग्ल्यान्डका खेलाडीअगाडि उत्सव मनाएको दृश्य देखिएको थियो।

खेलको टिप्पणी गरिरहेका इंग्ल्यान्डका पूर्वगोलरक्षक पल रोबिन्सनले बार्कोको व्यवहारलाई जारी विश्वकपमा देखिएको खराब खेलभावनाको उदाहरण बताएका छन्।

घटनालाई लिएर फिफाको अनुशासन समितिले बेलिङ्घममाथि छानबिन गर्न सक्ने बताइएको छ। हिंसात्मक व्यवहारमा दोषी ठहरिएमा २३ वर्षीय बेलिङ्घमले शनिबार फ्रान्सविरुद्ध हुने तेस्रो स्थानको खेल गुमाउन सक्नेछन्। यद्यपि, फिफाले उक्त घटनालाई हिंसात्मकभन्दा पनि आवेगपूर्ण व्यवहारका रूपमा मूल्यांकन गर्ने सम्भावना रहेको बताइएको छ।

खेलको नियमअनुसार कुनै खेलाडीले विपक्षीको टाउकोमा जानाजानी प्रहार गरे पनि प्रयोग गरिएको बल अत्यन्त सामान्य भएमा त्यसलाई रातो कार्ड दिनुपर्ने अपराध नमानिन सक्छ।

एटलान्टामा भएको खेलमा एन्थोनी गोर्डनको गोलबाट इंग्ल्यान्डले दोस्रो हाफको सुरुमै अग्रता बनाएको थियो। तर, एन्जो फर्नान्डेजले ८५ औँ मिनेटमा बराबरी गोल गरेपछि इन्जुरी समयको दोस्रो मिनेटमा लाउटारो मार्टिनेजले हेडरमार्फत निर्णायक गोल गर्दै अर्जेन्टिनालाई २–१ को जित दिलाएका थिए।

फ्रान्सेली क्लब स्ट्रासबर्गबाट खेल्ने २१ वर्षीय बार्को यसअघि इंग्लिस क्लब ब्राइटनमा आबद्ध थिए। उनी चेल्सीमा जाने तयारीमा रहेको बताइएको छ। जारी विश्वकपमा उनले जोर्डनविरुद्धको समूह चरणको खेलमा वैकल्पिक खेलाडीका रूपमा एकपटक मात्र मैदान प्रवेश गरेका छन्।

बुधबारको सेमिफाइनल सुरुदेखि नै तनावपूर्ण बनेको थियो। पहिलो हाफमा मात्रै १९ फाउल भएका थिए। अमेरिकी रेफ्री इस्माइल एल्फाथलाई खेल नियन्त्रणमा राख्न कठिन भएको देखिएको थियो।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.