ताप्लेजुङ — कञ्चनजङ्घा संरक्षण क्षेत्रअन्तर्गतका दुर्गम हिमाली बस्तीमा सञ्चालन गरिएको ट्राभल डेन्टल क्याम्पबाट ९७ जना स्थानीय नागरिक लाभान्वित भएका छन्। सेकाथुमदेखि घुन्सासम्मका चार गाउँमा सञ्चालन गरिएको शिविरमा विशेषज्ञ चिकित्सक टोलीले निःशुल्क दन्त परीक्षण, उपचार तथा मुख स्वास्थ्यसम्बन्धी जनचेतनामूलक सेवा प्रदान गरेको हो।
डा. शशांक ताम्राकारको नेतृत्वमा सञ्चालित शिविरमा सेकाथुमका ३१ जना, ग्याब्लाका ११ जना र घुन्साका ५५ जना गरी कुल ९७ जनाले सेवा लिएको आयोजकले जनाएको छ। शिविरमा दन्त रोगसम्बन्धी ओपीडी सेवा, दाँत निकाल्ने, दाँत सफा गर्ने (स्केलिङ), दाँत भर्ने, मुख तथा दन्त स्वास्थ्यसम्बन्धी परामर्श, साथै टूथब्रस र टूथपेस्ट वितरण गरिएको थियो।
आयोजकका अनुसार घुन्सा केन्द्रमा मात्रै ३७ जनाको दाँत निकालिएको, ३१ जनाको स्केलिङ गरिएको तथा ८ जनाको दाँत भरिएको छ।
शिविरमा दन्त चिकित्सक डा. शशांक ताम्राकार र डा. अविनाश यादव, जनस्वास्थ्यकर्मी तथा डा. धर्मराज कटुवाल (पल्स प्यारामेडिक) सहभागी थिए। शिविरको व्यवस्थापन तथा समन्वय तेन्जिङ नुपु शेर्पा (प्रोप्राइटर, Jannu Guest House) ले गरेका थिए।
तेन्जिङ नुपु शेर्पाले दुर्गम क्षेत्रमा गुणस्तरीय दन्त स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको बताए। उनले शिविरलाई सफल बनाउन सहयोग पुर्याउने डा. शशांक ताम्राकारसहित सम्पूर्ण स्वास्थ्य टोलीप्रति आभार व्यक्त गर्दै घुन्सा, फले, ग्याब्ला, सेकाथुम, आम्जिलेसा र सोक्लिमाका स्थानीयवासीको तर्फबाट समेत कृतज्ञता प्रकट गरे। आगामी दिनमा पनि यस्ता सेवामूलक स्वास्थ्य कार्यक्रमलाई निरन्तरता दिने विश्वास उनले व्यक्त गरे।
दुर्गम हिमाली क्षेत्रमा विशेषज्ञ दन्त स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध हुन नसकिरहेको अवस्थामा सञ्चालन गरिएको यस ट्राभल डेन्टल क्याम्पले स्थानीय बासिन्दालाई गाउँमै उपचार सेवा उपलब्ध गराउनुका साथै मुख तथा दन्त स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याएको विश्वास गरिएको छ।